बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडाैं | असार १४, २०८०
बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।
बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो ।
बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।
आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।
खेलको १२ औं मिनेटमा तेसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर भुटानले अग्रता कायम राख्न सकेन । २१ औं मिनेटमा शेद मोर्सालिनले बंगलादेशका लागि बराबरी गोल फर्काए ।
३०औं मिनेटमा भुटानकै फुन्सो जिग्मेले आत्मघाती गोल गर्दा बंगलादेशले २-१ को अग्रता लियो । राकिब होसेनले ३६ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन ।
बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छन् र सेमिफाइनल समीकरण तय भएको छ । पहिलो पटक साफ खेलिरहेका आमन्त्रित टिमद्वय लेबनान र कुवेतसहित घरेलु टोली भारत र बंगलादेशले यसपटक सेमिफाइनल खेल्नेछन् ।
अब समिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत भारतलाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ को विजेता लेबनानले भारतसँग खेल्नेछ ।
दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...

